पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम पेन्ट्सको IPO मा २४.६३ लाख आवेदन, पर्ने सम्भावना ३ प्रतिशतभन्दा कम

साझा अर्थ संवाददाता २ असार २०८३, मङ्गलवार
समाचार सारांश
  • सर्वोत्तम पेन्ट्सको आईपीओमा करिब ३७.९० गुणा बढी आवेदन परेको छ, जसले गर्दा सेयर पर्ने सम्भावना निकै कम (करिब २.८६%) छ।
  • कम्पनीको क्रेडिट रेटिङ 'केयर–एनपी डबल बी' ले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा अत्यधिक आवेदन परेको छ। कम्पनीले गत जेठ २८ गतेदेखि बिक्री खुला गरेको आईपीओ आज मंगलबार बैंकिङ समयपछि बन्द हुँदैछ।

सर्वसाधारणका लागि खुला गरिएको ७ लाख ५ हजार ५०० कित्ता सेयरका लागि अन्तिम दिनसम्म २४ लाख ६३ हजार ४२९ आवेदक बाट २ करोड ६७ लाख ४३ हजार ६४० कित्ता माग भएको छ। यस आधारमा कम्पनीको आईपीओमा मागभन्दा करिब ३७.९० गुणा बढी आवेदन परेको देखिन्छ।

१० कित्ता पाउने सम्भावना निकै कम

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर संख्या सीमित भएकाले सबै आवेदकले सेयर पाउने सम्भावना छैन। १० कित्ताका दरले बाँडफाँट भएमा बढीमा ७० हजार ५५० आवेदकले मात्रै सेयर पाउन सक्नेछन्।

२४ लाख ६३ हजारभन्दा बढी आवेदकलाई आधार मान्दा यो आईपीओ पर्ने सम्भावना करिब २.८६ प्रतिशत मात्र देखिन्छ। बाँकी करिब २३ लाख ९२ हजारभन्दा बढी आवेदक खाली हात रहने सम्भावना छ।

२५ प्रतिशत सेयर सार्वजनिक निष्कासन

सर्वोत्तम पेन्ट्सको जारी पुँजी ३४ करोड रुपैयाँ रहेको छ। कम्पनीले त्यसको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सार्वजनिक निष्कासनका लागि छुट्ट्याएको थियो।

त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई नियमानुसार बाँडफाँट गरी बाँकी ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ सुधारिए पनि जोखिम मध्यम

कैलालीको अत्तरियामा उत्पादन प्लान्ट रहेको यस कम्पनीको वित्तीय साख रेटिङलाई केयर रेटिङ्स नेपालले परिमार्जन गर्दै ‘केयर–एनपी डबल बी’ दिएको छ। यसअघि कम्पनीको रेटिङ ‘केयर–एनपी डबल बी माइनस’ थियो।

यो रेटिङ सुधार हुनु कम्पनीका लागि सकारात्मक संकेत भए पनि ‘डबल बी’ रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। त्यसैले आवेदन अत्यधिक परेको तथ्यलाई मात्र हेरेर कम्पनी पूर्ण रूपमा जोखिमरहित छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।

लगानीकर्ताका लागि के अर्थ?

नेपालमा आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने र लगानी रकम पनि तुलनात्मक रूपमा कम हुने भएकाले सर्वसाधारणको आकर्षण उच्च देखिने गरेको छ। तर माग धेरै परेपछि बाँडफाँट प्रायः गोलाप्रथाबाट हुने भएकाले सर्वोत्तम पेन्ट्सको आईपीओमा पनि सेयर पर्ने सम्भावना निकै कम छ।

आईपीओ सूचीकरणपछि कम्पनीको सेयर मूल्य कुन दिशामा जान्छ भन्ने कुरा बजारको अवस्था, कम्पनीको वित्तीय प्रदर्शन, उत्पादन क्षमता, प्रतिस्पर्धा र लगानीकर्ताको माग–आपूर्तिमा निर्भर रहनेछ।

82 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु