पात्रो

रेडियो

समाचार खोजी

अमेरिकाद्वारा इरानमा लगातार दोस्रो दिन आक्रमणः ट्रम्पले दिए अस्तित्व मेटाउने धम्की, युद्धविराम संकटमा

साझा अर्थ संवाददाता १४ असार २०८३, आइतवार

काठमाडौ,१४, असारः  अमेरिकी सेनाले इरानविरुद्ध शनिबार पनि लगातार दोस्रो दिन हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार इरानले तेल ट्याङ्करमा गरेको आक्रमणको जवाफमा यी कारबाही गरिएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रत्यक्ष निर्देशनमा भएका यी आक्रमणले दुई साताअघि मात्र भएको नाजुक युद्धविराम सम्झौता गम्भीर संकटमा पारेको छ।
अमेरिकी विमानले इरानका सैन्य निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा साइट, ड्रोन भण्डारण सुविधा र खानी विछ्याउने क्षमतालाई निशाना बनाएको सेन्टकमले जनाएको छ। शुक्रबार होर्मुज जलडमरूमध्य नजिक एउटा व्यापारिक जहाजमा इरानी ड्रोन आक्रमण भएपछि अमेरिका कडा प्रतिक्रियामा उत्रिएको हो।
सेन्टकमका अनुसार शुक्रबारको आक्रमणपछि इरानलाई युद्धविराम पालना गर्न मौका दिइए पनि इरानी सेनाले शनिबार बिहान ४ः३० बजे अर्को ‘वान–वे अट्याक ड्रोन’ प्रक्षेपण गरी अर्को तेल ट्याङ्करलाई निशाना बनायो। त्यसपछि अमेरिकाले तत्काल जवाफी कारबाही गरेको हो।
इरानी सञ्चारमाध्यमका अनुसार दक्षिणी इरानको सिरिक टापु र केशम टापुको एउटा गाउँमा विष्फोटको आवाज सुनिएको छ। यी स्थानहरू होर्मुज जलडमरूमध्यको सामरिक समुद्री मार्गनजिकै पर्छन्, जहाँ शुक्रबार पनि आक्रमण भएको थियो।
यी आक्रमणपछि राष्ट्रपति ट्रम्पले ट्रुथ सोसियलमा कडा चेतावनी दिए। उनले भने, “इरानले युद्धविराम सम्झौताको उल्लङ्घन गरेको छ। हाम्रा विमानले मिसाइल र ड्रोन भण्डारणका साथै तटीय रडार साइटहरूमा प्रहार गरेका छन्।” उनले अगाडि भने, “यदि इरानले यसरी नै उल्लङ्घन जारी राख्यो भने उसको अस्तित्व नै मेटिन सक्छ। हुन सक्छ उनीहरूले कहिल्यै पाठ सिक्दैनन्। एउटा समय आउन सक्छ जब हामी थप बुद्धिमानी ढङ्गले काम गर्न नसकी सैन्य रूपमा नै त्यो कार्य सम्पन्न गर्न बाध्य हुनेछौँ, जुन हामीले धेरै सफलतापूर्वक सुरु गरेका थियौं।”
ट्रम्पको यो धम्कीले इरानविरुद्ध अमेरिकी आक्रमणको तीव्रता अझ बढ्न सक्ने संकेत दिएको छ। लगातार भइरहेका आक्रमण र कूटनीतिक वार्ताको विफलताले मध्यपूर्वमा ठूलो सैन्य भिडन्तको आशंका बढाएको छ। युद्धविरामको भविष्य अन्योलमा परेको छ भने अन्तर्राष्ट्रिय समुदायले तनाव कम गर्न तत्काल हस्तक्षेपको माग गरिरहेको छ।

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु