काठमाडौँ, ७ असार : भारतीय अर्बपति मुकेश अम्बानीको स्वामित्वमा रहेको रिलायन्स इन्डस्ट्रिजको टेलिकम एकाइ ‘जियो प्लेटफर्म्स’ ले भारतको इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने भएको छ। कम्पनीको सञ्चालक समितिले आईपीओका लागि मस्यौदा विवरणपत्र स्वीकृत गरिसकेको जानकारी अम्बानीले रिलायन्सको वार्षिक साधारण सभामा दिएका हुन्।
५० करोडभन्दा बढी ग्राहक रहेको भारतको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक जियोले यस आईपीओमार्फत करिब ४ अर्ब डलर पुँजी संकलन गर्ने लक्ष्य राखेको छ। सन् २०१६ मा सस्तो मोबाइल डेटा ल्याएर दूरसञ्चार क्षेत्रमा क्रान्ति गरेको जियोले हाल क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा व्यवसाय विस्तार गरिसकेको छ। विश्वप्रसिद्ध लगानी बैंक जेफरीजले जियोको कुल बजार मूल्याङ्कन करिब १८० अर्ब डलर रहेको अनुमान गरेको छ।
अम्बानीले सन् २०२६ को पहिलो छ महिनाभित्रै कम्पनी सेयर बजारमा सूचीकृत हुने संकेत यसअघि नै गरेका थिए। यो आईपीओ रिलायन्स समूहका लागि ऐतिहासिक क्षण हुनेछ, किनकि सन् २००६ मा रिलायन्स पेट्रोलियम सूचीकृत भएयता समूहले ल्याउन लागेको यो नै पहिलो ठूलो सार्वजनिक निष्कासन हो। हालै मात्र सामाजिक सञ्जालको दिग्गज कम्पनी 'मेटा' ले गुजरातमा रिलायन्सले निर्माण गरिरहेको १६८ मेगावाटको एआई डेटा सेन्टर भाडामा लिने घोषणा समेत गरेको थियो।