पात्रो

रेडियो

समाचार खोजी

एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका समेत जोखिममा

साझा अर्थ संवाददाता १७ जेठ २०८३, आइतवार

काठमाडौँ, १७ जेठ : आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। प्रत्येक वर्ष मे ३१ मा मनाइने यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका रणनीति र स्वस्थ जीवनयापनबारे जनचेतना फैलाउने उद्देश्य राख्छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार हाल विश्वभर करिब एक अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्। सुर्तीका कारण प्रत्येक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु हुन्छ, जसमध्ये १२ लाखको मृत्यु निष्क्रिय धूमपानका कारण हुने गरेको छ।

विशेषगरी चिन्ताजनक पक्ष के छ भने विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका कम्तीमा चार करोड बालबालिका सुर्तीजन्य पदार्थको प्रयोगमा छन्। साथै, विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिन पाउचको प्रयोग युवापुस्तामा तीव्र रूपमा बढिरहेको छ।

डब्ल्युएचओले सरकारहरूलाई नयाँ पुस्तालाई सुर्ती तथा निकोटिनको लतबाट जोगाउन विशेष आग्रह गरेको छ। संगठनका अनुसार निकोटिन अत्यधिक लत लाग्ने पदार्थ हो र मस्तिष्क विकासको चरणमा रहेका बालबालिका तथा युवाका लागि यो अझ घातक छ।

हाल विश्वका करिब १६० देशमा निकोटिन पाउचसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा लाखौँ मानिस जोखिममा छन्। डब्ल्युएचओले स्वादयुक्त निकोटिन उत्पादनमा प्रतिबन्ध, विज्ञापन रोक्न र सार्वजनिक स्थान पूर्ण धूमपान–मुक्त घोषणा गर्न आग्रह गर्दै भावी पुस्ताको स्वास्थ्य सुरक्षाका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताएको छ।

121 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु