काठमाडौँ : मंगलबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक २२.२१ अंक अर्थात् ०.८० प्रतिशतले बढेर २,७७७.५८ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन नेप्से २६.७२ अंकले घटेको थियो।
आज बजार २,७५८.०८ विन्दुबाट खुलेको थियो। कारोबार अवधिमा परिसूचक २,७४५.६६ विन्दुसम्म झरेको थियो भने उच्चतम २,७७७.५८ विन्दुसम्म पुगेको थियो।
यस दिन ३४६ कम्पनीका १ करोड १३ लाख ८५ हजार १०० कित्ता सेयर ६१ हजार ५२७ पटक खरिद–बिक्री हुँदा कुल कारोबार रकम ५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। बजार पुँजीकरण ४७.३९ खर्ब रुपैयाँ र फ्लोट बजार पुँजीकरण १५.८५ खर्ब रुपैयाँ रहेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अगाडि रह्यो। कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढ्दा नबिल डिबेन्चर २०८५ सर्वाधिक ४.५९ प्रतिशतले घटेको छ। समूहगत रूपमा फाइनान्स सूचक ६.०३ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशतले घटेको छ।