रौतहट: रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बाँध अग्लो र बलियो बनाएपछि गौर नगरसहित दर्जनौं नेपाली गाउँ डुबानको जोखिममा परेका छन्। दुई देशको सहमतिबिना सीमा क्षेत्रमा यस्तो संरचना बनाउन नपाइने नियम भए पनि भारतले बाँध मर्मतको बहानामा यो काम गरेको हो।
स्थानीय अमित केशरीका अनुसार भारतले आफ्नो भूमि डुबानबाट जोगाउन १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध बनाएको छ। बाँधको तीनवटा सुलीसगेट बन्द गर्दा लालबकैया र वाग्मती नदीको पानी निकास नपाइ ‘ब्याक’ भई नेपाली बस्तीमा पस्ने गरेको छ। बाँध भत्काउने वा गेट खोल्ने डरले भारतीय सीमा सुरक्षा बल (एसएसबी) हतियारसहित २४ सै घण्टा बाँधमा खटिएको छ।
गौरवासी गौतम श्रेष्ठका अनुसार बाँध अग्लो हुँदा वर्षायाममा बाढीको बहाव रोकिने र गौर पूर्णरूपमा डुबानमा पर्ने गरेको छ। केही वर्षअघि स्थानीय प्रशासनको आपत्तिपछि माटो थप्ने काम रोकिएको थियो तर अहिले पुनः तीव्र बनाइएको पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले बताए।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षीलाई ध्यानाकर्षण गराएको बताएका छन्। बाँधका कारण रौतहटको राजदेवी, गौर र इशनाथ नगरपालिकाका धेरै गाउँ वर्षेनि डुबानमा पर्दै करोडौंको क्षति बेहोर्दै आएका छन्।




