काठमाडौँ, ३ असार :कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड को संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि राखिएको सेयरको 'लक-इन' अवधि आगामी साउन ६ गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्ड को निर्देशनबमोजिम कम्पनीले आफ्ना लगानीकर्ता तथा सरोकारवालाहरूलाई औपचारिक सूचना जारी गर्दै तीन वर्षअघि आइपिओ बाँडफाँट भएदेखि रोक्का रहेको सेयरको लक-इन अवधि साउनमा सकिने जानकारी दिएको हो।नेप्से मा हाल कम्पनीको कुल १४ लाख ७४ हजार ५९७ कित्ता सेयर सूचीकृत छ।
साउन ६ गतेपछि फुकुवा हुने कुल सेयरमध्ये संस्थापकहरूको १० लाख ७२ हजार ४३४ कित्ता, आयोजना प्रभावित स्थानीयको १ लाख ३४ हजार ५४ कित्ता र कर्मचारीहरूको २ हजार ६८०.७० कित्ता रहेको छ। लक-इन अवधि सकिएपछि यी सेयरहरू बजारमा सर्वसाधारण सरह कारोबारका लागि योग्य हुनेछन्। यद्यपि, कम्पनीको सञ्चालक समिति र उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूले होल्ड गरेको सेयर भने प्रचलित नियमानुसार तत्कालै खरिद-बिक्री गर्न नपाइने सूचनामा स्पष्ट पारिएको छ। हाल नेप्सेमा कुथेली बुखारी स्मल हाइड्रोपावरको अन्तिम कारोबार मूल्य प्रतिसेयर १,५०६ रुपैयाँ कायम रहेको छ।