काठमाडौँ, ४ असारः नेपाल उद्योग वाणिज्य महासंघले कूटनीति पहल मार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ । महासंघले बुधवार सो आग्रह गरेको हो ।
भारतीय चिया बोर्डले मे १ देखि लागु गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध पैदा भएको महासंघको भनाई रहेको छ ।
नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात तथा रोजगारीका दृष्टिले अत्यन्त महत्वपूर्ण र रणनीतिक क्षेत्रको रूपमा स्थापित रहेको उल्लेख गर्दै महासंघले नेपाल चिया उत्पादक संघबाट प्राप्त पछिल्लो वस्तुस्थिति र मागलाई मध्यनजर गर्दै तत्काल ठोस कूटनीतिक र नीतिगत कदम चाल्न सरकार समक्ष माग गरेको छ ।
वार्षिक करिब रु १२ अर्बदेखि रु १४ अर्ब बराबरको कारोबार गर्दै हुने गरेको चिया उद्योगले ६० हजारभन्दा बढी कर्मचारी तथा मजदुरलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ भने राज्यलाई वार्षिक करिब रु एक अर्ब राजस्व बुझाउने गरेको छ ।