काठमाडौँ, १२ असार : बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज असार १२ गते प्रणालीबाट थप ४५ अर्ब रुपैयाँ खिच्ने भएको छ। बजारमा कर्जाको माग सुस्त भएसँगै तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत यो रकम उठाउन लागेको हो। यसका लागि आज दिउँसो ३ बजे अनलाइन बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बहुब्याजदर प्रणालीमा समेत बोलकबोल गर्न सकिने यो उपकरण ७५ दिने अवधिको हुनेछ। राष्ट्र बैंकका अनुसार आज संकलन गरिने यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २४ गते गरिनेछ।