काठमाडौँ, १२ असार : साताको अन्तिम कारोबार दिन असार १२ गते शुक्रबार नेपाल स्टक एक्सचेन्ज परिसूचकमा झिनो गिरावट आएको छ। दिनभर उतारचढावपूर्ण रहेको बजारमा आज नेप्से सूचक २.०० अंक अर्थात् ०.०७ प्रतिशतले ओरालो लाग्दै २६४९.५१ को विन्दुमा सीमित भएको छ।
परिसूचकमा झिनो दबाब देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा उल्लेखनीय सुधार आएको छ। हिजो बिहीबार २ अर्ब ८३ करोडको सेयर खरिदबिक्री भएकोमा आज दिनभर कुल ७७ लाख २७ हजार ६४९ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ९४ करोड ५८ लाख ४ हजार ५५२ रुपैयाँ बराबरको कारोबार भएको छ।
लगातार पाँचौँ दिन बजार राताम्मे भए पनि कारोबार रकम झन्डै ४ अर्ब नजिक पुग्नुले तल्लो मूल्यमा सेयर उठाउने लगानीकर्ताहरू पुनः सक्रिय हुन थालेको संकेत गर्छ।