काठमाडौँ, १५ असार: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले शपथ गराउँदै लगानीकर्ताको हित र पुँजी सुरक्षामा इमानदारीपूर्वक काम गर्न निर्देशन दिए ।
मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई अध्यक्ष नियुक्त गरेको थियो । शपथपछि मन्त्री वाग्लेले नवनियुक्त अध्यक्षलाई पुँजी बजारमार्फत आर्थिक वृद्धिको गति लिन र लगानीकर्ताको विश्वास जित्न विशेष ध्यान दिन आग्रह गरे । ‘कुनै लोभ र प्रभावमा नपरी लगानीकर्ताको सुरक्षा गर्नुहोस्, सरकारको पूर्ण सहयोग रहनेछ,’ मन्त्री वाग्लेले भने ।
उनले बजार सुधारका दैनिक, साप्ताहिक, मासिक, छ महिना र वार्षिक योजना पेस गर्न निर्देशन दिँदै अनावश्यक हल्लाले साना लगानीकर्तामा पारेको त्रासलाई चिर्न पनि भने । ‘समयसीमा तोकेर योजना कार्यान्वयन गर्नुहोस्, नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,’ मन्त्रीले भने, ‘मन्त्रालयबाट हस्तक्षेप हुँदैन, मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ।’
नवनियुक्त अध्यक्ष भट्टले सरकारको लक्ष्यअनुसार पुँजीबजारको विकासमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । उनले आफ्नो ज्ञान, अनुभव र सीपलाई लगानीकर्ताको हित र आर्थिक वृद्धिमा सहयोग गर्न प्रयोग गर्ने बताए । बजार सुधारका लागि भएका अध्ययन र सिफारिसहरू कार्यान्वयन गर्दै निरन्तर काम गर्ने उनको भनाइ छ । नयाँ नेतृत्वले बजारमा स्थायित्व र विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।