पात्रो

रेडियो

समाचार खोजी

नेपाल–चीन आर्थिक र सांस्कृतिक सहकार्यका लागि ल्हासामा छलफल

साझा अर्थ संवाददाता १३ असार २०८३, शनिवार

काठमाडौः चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसरबारे एक विशेष कार्यक्रम आयोजना गरेको छ । महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सिचाङ सरकारका कार्यकारी उपाध्यक्ष चाओ पेङ लगायत सरोकारवालाहरूको सहभागिता थियो।

कार्यक्रममा वाणिज्यदूत सविन भट्टराईले नेपालको व्यापारिक सम्भावनाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपालको पर्यटन र लगानीका अवसर समेटिएको भिडियो प्रदर्शन गरिएको थियो । प्रमुख अतिथि चाओ पेङले नेपाल चीनको सच्चा मित्र भएको बताउँदै चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा भ्रमण र लगानी गर्न आह्वान गर्नुभयो ।

महावाणिज्यदूत निरौलाले चीनको सहयोगप्रति आभार प्रकट गर्दै नेपाल ’एक चीन सिद्धान्त’ प्रति दृढ रहेको र नेपाली भूमि कुनै पनि मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिने स्पष्ट पार्नुभयो।

कार्यक्रमअघि कार्यकारी उपाध्यक्ष पेङ र महावाणिज्यदूत निरौलाबीच भएको शिष्टाचार भेटमा महत्त्वपूर्ण विषयहरूमा छलफल भयो। महावाणिज्यदूत निरौलाले सीमा पूर्वाधार विकास, आयात–निर्यात र नेपालीहरूका लागि भिसा तथा तिब्बत प्रवेश अनुमतिमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो। साथै, ल्हासास्थित ऐतिहासिक सरस्वती मन्दिर र सिगात्सेस्थित नेपाली भीमसेन मन्दिरको नेपाली शैलीमा जीर्णोद्धारका लागि सहयोगको अनुरोध गर्नुभयो।

जवाफमा कार्यकारी उपाध्यक्ष पेङले नेपाल र सिचाङबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध बलियो रहेको उल्लेख गर्दै सीमा व्यवस्थापन, मन्दिरहरूको जीर्णोद्धार र रसुवागढीस्थित सीमा नदीमा पक्की पुल निर्माणका लागि चीन तयार रहेको प्रतिबद्धता जनाउनुभयो। यो कार्यक्रमले दुई देशबीचको आर्थिक र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाएको विश्वास गरिएको छ।

28 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ