पात्रो

रेडियो

समाचार खोजी

रास्वपाको महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

साझा अर्थ संवाददाता ६ असार २०८३, शनिवार

चितवन, ६ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी महाधिवेशनमा चार हजार २०० भन्दा बढी प्रतिनिधिको सहभागिता हुने भएको छ। केन्द्रीय सचिवालयका अनुसार प्रारम्भिक तथ्याङ्कमा चार हजार २१० प्रतिनिधि रहने अनुमान गरिएको हो।

सचिवालयको सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठले प्रारम्भिक रूपमा तीन हजार ८१० प्रतिनिधि देखिएको र २५ देशका प्रवासी सम्पर्क विभागबाट थप २०० जना प्रतिनिधि आउने जानकारी दिए। साथै, सभापतिबाट विधानअनुसार मनोनयन गरिने २०० प्रतिनिधि र समूहगत रूपमा पार्टी प्रवेश गर्ने अन्य सदस्य पनि थपिन सक्ने श्रेष्ठले बताए।

आज बिहानसम्मको सूचीमा दाबीविरोध, दोहोरोपन र छुटपुटलाई समायोजन गरी अन्तिम नामावली प्रकाशन गरिनेछ। आजै बस्ने केन्द्रीय समिति बैठकपछि सभापतिले मनोनयन गर्ने प्रतिनिधिको नाम पेस गर्ने र साँझसम्म अन्तिम सूची तयार हुने श्रेष्ठले स्पष्ट पारे।

प्रदेशगत विवरणअनुसार कोशीबाट ५२०, मधेसबाट ६३०, बागमतीबाट ७९०, लुम्बिनीबाट ४९०, गण्डकीबाट ४७०, कर्णालीबाट ३६० र सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी हुनेछन्।

महाधिवेशन प्रतिनिधिमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना, प्रदेश समितिका सबै सदस्य, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी रहने व्यवस्था छ। त्यस्तै, केन्द्रीय समितिका सबै सदस्य, ३८ वटा विभागका ११/११ सदस्य, तथा केन्द्रीय निर्वाचन, अनुशासन र लेखा आयोगका ११/११ सदस्य प्रतिनिधि हुनेछन्।

प्रत्येक गाउँपालिकाबाट एक, नगरपालिकाबाट दुई, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार प्रतिनिधि रहने छन्। प्रदेश सम्पर्क विभागबाट तीन र जिल्ला सम्पर्क विभागबाट एक/एक प्रतिनिधि हुने व्यवस्था गरिएको छ।

गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका उपविजेता, समानुपातिक सूचीमा रहेका तथा पार्टीमा सक्रिय सदस्य, केन्द्रीय समितिमा नरहेका सांसदसमेत प्रतिनिधि रहनेछन्।

आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन तथा उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्र हुनेछ। पार्टी सभापति रवि लामिछानेसहित नेताहरू चितवन पुगिसकेका छन् भने प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह आइतबार चितवन आउने कार्यक्रम छ।

30 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ