तनहुँ), ६ असार: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्वअन्तर्गत सात योजना निर्माणाधीन अवस्थामा राखेको छ। आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार वैशाखमा म्याग्दे गाउँपालिका–३ किल्चोकमा नाला निर्माण र ऋषिङ–१ होक्सेटारमा खानेपानी सुधार योजना सम्पन्न भइसकेका छन्। हालसम्म आयोजनाले प्रभावित क्षेत्रमा ९६ वटा योजना सम्पन्न गरिसकेको छ।
निर्माणाधीन योजनाहरूमा ऋषिङ–७ माछदाङ टुनीबोट ट्रेल पुल पहुँच सडक, भिमाद–५ फेदीखोला मोटरेबल पुल, ऋषिङ–७ डाडीवन चुलेसी पहुँच मार्ग, सेती नदीमाथि चारवटा झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति, भिमाद–५ वानटाङ खोलामा पक्की पुल, म्याग्दे–५ फूलबारीमा सामुदायिक भवन पर्खाल निर्माण र ऋषिङ–१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण रहेका छन्। उपभोक्ता समितिमार्फत सञ्चालित यी योजनाको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित अनुगमन भइरहेको छ।
आयोजना प्रमुख भण्डारीले समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै सामाजिक काममा निरन्तर सहयोग गरिरहेको बताए। आयोजनाको प्याकेज १ (हेडवर्क्स), प्याकेज २ (मुख्य सुरुङ, विद्युतगृह) र प्याकेज ३ (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) को काम पनि भइरहेको छ। आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पुग्नुका साथै प्रभावित समुदायले विकासका पूर्वाधार र जीविकोपार्जन कार्यक्रमबाट प्रत्यक्ष लाभ पाउनेछन्।




