काठमाडौँ, ११ असार
सडक अनुशासन सुदृढ गर्न र दुर्घटना न्यूनीकरण गर्न सरकारले सवारी तथा यातायात ऐन परिमार्जन गर्दै ट्राफिक नियम उल्लङ्घनबापतको जरिवानामा भारी वृद्धिको प्रस्ताव गरेको छ। प्रस्तावित नयाँ व्यवस्था अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाएमा न्यूनतम २५ हजारदेखि अधिकतम ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
यसैगरी लेन अनुशासन मिच्ने, एकतर्फी सडकमा सवारी छिराउने वा गाडी चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ। अनुमतिपत्रविना सवारी चलाएमा ५ हजारदेखि २५ हजार र तीव्र गतिमा गुडाएमा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ। सडकमा विनाकारण अत्यधिक ढिलो गाडी चलाएर बाधा पुर्याएमा ३ हजारदेखि ५ हजार र हेल्मेट नलगाई दुई पाङ्ग्रे सवारी चलाएमा ३ हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।
विशेष सुरक्षा अन्तर्गत भित्री भाग नदेखिने गरी कालो सिसा राख्ने सवारीलाई पहिलो पटकमै १ लाख रुपैयाँसम्म र सडकमा निर्माण सामग्री वा चौपाया छाडेर यातायात प्रभावित पारेमा २५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ। जेब्रा क्रसिङ बाहिरबाट सडक पार गर्ने पैदलयात्रीलाई ५००, मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई ३ हजार र अवैध रूपमा अफलाइन राइड सेयरिङ गर्नेलाई २ हजार रुपैयाँ जरिवानाको खाका तयार पारिएको छ। हाल मस्यौदाको चरणमा रहेको यो प्रस्ताव संसद्बाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।