दोलखाः दोलखा जिल्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका नौ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गएिको बजेटअनुसार भीमेश्वर नगरपालिका सबैभन्दा बढी बजेट ल्याउने स्थानीय तह बनेको छ भने बैतेश्वर गाउँपालिका सबैभन्दा कम बजेट भएको स्थानीय तहको बनेको पाइएको छ ।
जिल्लाका स्थानीय तहहरुमध्ये सबै भन्दा ठूलो आकारको बजेट ल्याएको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८९ करोड ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । त्यस्तै सबै भन्दा सानो आकारको बजेट ल्याएको बैतेश्वर गाउँपालिकाले ४९ करोड ५७ लाख ४३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
यस्तै तामाकोशी गाउँपालिकाले ८२ करोड १० लाख , कालिन्चोक गाउँपालिकाले ६४ करोड ७० लाख, विगु गाउँपालिकाले ६१ करोड ६९ लाख रुपैयाँ तथा शैलुङ गाउँपालिकाले ६१ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
जिरी नगरपालिकाको बजेट ५९ करोड ७१ लाख रुपैयाँ, गौरिशंकर गाउँपालिकाको ५९ करोड ३८ लाख रुपैयाँ र मेलुङ गाउँपालिकाको ५४ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
जिल्लाका स्थानीय तहहरूले सार्वजनिक गरेका बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जनालगायतका क्षेत्रलाई प्राथमिकता दिइएको पाइएको छ ।