काठमाडौँ, १० असार
सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन तथा बाँडफाँड सम्पन्न गरी कालंगा हाइड्रो लिमिटेड, सानिगाड हाइड्रो लिमिटेड र एभरेष्ट कलर लिमिटेड धितोपत्र दोस्रो बजारमा सूचीकरणको अन्तिम तयारीमा जुटेका छन्। धितोपत्र दोस्रो बजारमा कारोबार सुरु गर्नुअघि यी कम्पनीहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडसँग सेयर अभौतिकीकरणका लागि सम्झौता सम्पन्न गरिसकेका छन्। जेठ २७ गते आईपीओ बाँडफाँड गरेको कालंगा हाइड्रो र असार १ गते बाँडफाँड गरेको सानिगाड हाइड्रोले असार ५ गते नै सम्झौता गरेका हुन् भने असार ४ गते बाँडफाँड गरेको एभरेष्ट कलरले असार ९ गते सम्झौता गरेको हो। यस सम्झौतापश्चात् अब यी कम्पनीहरूको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकरणका लागि आवश्यक अन्तिम प्रक्रिया अघि बढ्नेछ।
बझाङमा १५ दशमलव ३३ मेगावाट क्षमताको आयोजनाबाट व्यापारिक उत्पादन गरिरहेको कालंगा हाइड्रोको १ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर सूचीकरण हुन लागेको हो, जसमा संस्थापकको ६५ प्रतिशत र सर्वसाधारणको ३५ प्रतिशत स्वामित्व छ। सोही जिल्लामा ३८ दशमलव ४६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको सानिगाड हाइड्रोको २ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत हुने तयारीमा छ, जसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत सेयर हिस्सा छ। त्यस्तै, विगत १४ वर्षदेखि पेन्ट उत्पादन गर्दै आएको एभरेष्ट कलर लिमिटेडको ३० करोड रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा आउँदैछ, जसमा संस्थापक तर्फ ७३ दशमलव ६७ प्रतिशत र सर्वसाधारण तर्फ २६ दशमलव ३३ प्रतिशत स्वामित्व रहेको छ।