पात्रो

रेडियो

समाचार खोजी

आजको मौसम पूर्वानुमान

साझा अर्थ संवाददाता १२ असार २०८३, शुक्रवार

काठमाडौँ, १२ असार : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। देशका अन्य भागमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ।

हाल हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रही तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाको भनाइ छ।

आज दिउँसो हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराईमा सामान्यतया बदली रहनेछ। मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराईमा आंशिक बदली रहने भएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। कोशीको तराई, मधेसका केही स्थान, बागमती र गण्डकीको तराईका एक–दुई स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो हावा चल्ने तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम वृद्धि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कोशी प्रदेशको तराई र मधेस प्रदेशमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली/पहाडी भेग तथा बागमती र गण्डकीको तराईमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिमको तराईमा मौसम सफा रहनेछ।

राति कोशी, बागमती, गण्डकीका हिमाली/पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनीका हिमाली/पहाडी भेगका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशीको तराई र मधेसका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले तातो हावा चल्ने र तापक्रम वृद्धि हुने पूर्वानुमान भएका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै महाशाखाको मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन समेत अनुरोध गरेको छ।

46 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु