पात्रो

रेडियो

समाचार खोजी

होर्मुज क्षेत्रमा तनाब बढ्याे

साझा अर्थ संवाददाता १२ असार २०८३, शुक्रवार

 

काठमाडाै‌, १२ असार – ओमानको खाडीमा एउटा जहाजमा भएको आक्रमणपछि संयुक्त राष्ट्रको समुद्री एजेन्सीले होर्मुज जलडमरूमध्यबाट जहाज निकाल्ने कार्य स्थगित गरेको छ। संयुक्त राष्ट्रको सो एजेन्सीले सो क्षेत्रमा फसेका सयौँ जहाज तथा हजारौँ नाविकलाई सुरक्षित स्थानमा निकाल्ने कार्य गरिरहेको थियो। तर, ब्रिटिस सेनाले ओमानको तट नजिक एउटा जहाजमा प्रक्षेपास्त्र प्रहार भएको जानकारी दिएपछि एजेन्सीले बिहीबार उक्त कार्य स्थगित गरेको हो। यस घटनाले होर्मुज क्षेत्रको तनाव थप बढाएको छ।

अन्तर्राष्ट्रिय समुद्री सङ्गठन (आईएमओ) का प्रमुखले फारसको खाडीमा रहेका जहाजलाई जलडमरूमध्यबाट बाहिर निकाल्ने योजना तबसम्म रोकिने बताउनुभएको छ, जबसम्म एजेन्सीले निकासी सूचीमा रहेका र सो क्षेत्रमा रहेका जहाजको सुरक्षा ग्यारेन्टीको पुष्टि गर्दैन। आईएमओका महासचिव आर्सेनियो डोमिङ्ग्वेजले भन्नुभयो, "ओमानको खाडीमा जहाजमा भएको आक्रमणको जानकारी प्राप्त भएपछि मैले निकासी प्रक्रिया केही समयका लागि रोक्ने निर्णय गरेको छु, ताकि हाम्रो सूचीमा रहेका जहाजका लागि आवश्यक सुरक्षा ग्यारेन्टी कायम रहेको सुनिश्चित गर्न सकियोस्।"

उक्त आक्रमण ईरानले जहाजलाई चेतावनी दिएको केही घण्टापछि भएको हो। ईरानले तेहरानको स्वीकृति बिना होर्मुज जलडमरूमध्यको मार्ग प्रयोग नगर्न भन्दै चेतावनी दिएको थियो। संयुक्त राष्ट्र एजेन्सीका महासचिव डोमिङ्ग्वेजका अनुसार आक्रमणमा परेको जहाज निकासी अभियानको हिस्सा थिएन। संयुक्त राष्ट्रको समुद्री एजेन्सीले सुझाएको मार्ग प्रयोग गर्दै धेरै जहाज होर्मुज जलडमरूमध्यबाट निस्कने प्रयासमा थिए। यो मार्ग ओमानको तटको समानान्तर रहेको छ। ईरानको रिभोल्युसनरी गार्ड (आईआरजीसी) ले सो क्षेत्रमा उनीहरूको अनुमति बिना कुनै मार्ग प्रयोग गर्न निषेध गरेको थियो।

एसोसिएटेड प्रेसका अनुसार एक अमेरिकी अधिकारीले 'एभर लभ्ली' नामक व्यापारिक जहाजमा ईरानको अर्धसैनिक रिभोल्युसनरी गार्डले ड्रोनबाट आक्रमण गरेको बताउनुभएको छ। युके म्यारिटाइम ट्रेड अपरेसन सेन्टरले जहाजमा क्षति पुगेको तर ओमानको तटमा भएको यस आक्रमणमा कोही घाइते नभएको तथा वातावरणीय क्षति नभएको जानकारी दिएको छ।

ईरान–अमेरिका युद्ध रोकिएपछि होर्मुज जलडमरूमध्यको आवागमन बढेको छ तर यो पहिलेको जस्तो नभएको समुद्री डाटा फर्म लोयड्स लिस्ट इन्टेलिजेन्सले जनाएको छ। गत हप्ता १२५ जहाज जलडमरूमध्यबाट गुज्रेका थिए भने त्यसअघिको हप्ता ३३ मात्र गुज्रेका थिए। बुधबार ७८ जहाज गुज्रेको संख्या युद्ध सुरु भएपछिको सबैभन्दा उच्च हो।

ईरानको रिभोल्युसनरी गार्डको नौसेना शाखाले नयाँ मार्ग प्रयोग नगर्न चेतावनी जारी गर्दै भनेको छ, "होर्मुज जलडमरूमध्य पार गर्नको लागि एकमात्र अधिकृत मार्ग ईरानले घोषणा गरेको मार्ग हो। कुनै पनि नयाँ मार्ग पूर्ण रूपमा खतरनाक हुनेछ र त्यसको प्रयोग गर्नु हुँदैन।"

42 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु