लमजुङ, १२ असार: लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक डिजिटल प्रविधिसहितको स्मार्ट कक्षा औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच हुवावे स्मार्ट कक्षा विद्यालयलाई हस्तान्तरण गरिएको हो।
हुवावे नेपाल, नेपालस्थित चिनियाँ दूतावास, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमको सहकार्यमा उक्त कक्षाकोठामा डिजिटल बोर्ड, कम्प्युटरलगायतका प्रविधिहरू जडान गरिएका छन्। यद्यपि स्मार्ट कक्षा पहिल्यैदेखि सञ्चालनमा रहेकोमा बिहीबार मात्र औपचारिक हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो।
सो अवसरमा बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं २ का वडाध्यक्ष मदनबहादुर रानालाई स्मार्ट पेन प्रदान गर्दै स्मार्ट कक्षा हस्तान्तरण गर्नुभयो। कार्यक्रममा काठमाडौँस्थित हुवावे टावरबाट पनि भर्चुअल माध्यममार्फत सहभागिता जनाइएको थियो।
हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन, आर्थिक परामर्शदाता झु फेङ, एडभीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री तथा आरम्भ विद्यालयका अध्यक्ष नरेशप्रसाद श्रेष्ठलगायतले स्मार्ट कक्षाले शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालका अनुसार हुवावे नेपालले विद्यालयलाई स्मार्ट कक्षा सञ्चालनका लागि १० थान कम्प्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर, एक थान स्मार्ट बोर्ड र १५ वटा टेबुल उपलब्ध गराएको छ। साथै कक्षाकोठाको रङरोगन र कार्पेट व्यवस्थापनमा समेत सहयोग पुगेको उहाँले जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष रानाले विद्यालयमा डिजिटल शिक्षा प्रणालीको आधुनिकीकरणका लागि सहयोग पुर्याउने हुवावे नेपाल र अन्य सबै सहयोगी संस्थाप्रति आभार व्यक्त गर्नुभयो।