काठमाडौँ, १० असार
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज असार १० गते ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ७९ दिन अवधिको निक्षेप संकलनका लागि बोलपत्र आह्वान गरेको हो। इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज अनलाइन बिडिङ प्रणालीमार्फत आफ्नो निक्षेप रकम र ब्याजदर उल्लेख गरी आवेदन दिन सक्नेछन्।
निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतममा ५ करोड रुपैयाँले भाग जाने गरी कुल जारी रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। संकलित निक्षेपको सावाँ र ब्याज २०८३ भदौ २६ गते फिर्ता गरिनेछ। राष्ट्र बैंकका अनुसार बोलपत्र स्वीकृत भएपछि सम्बन्धित संस्थाको खाताबाट सोझै रकम कट्टा गरी केन्द्रीय बैंकको खातामा जम्मा हुनेछ।
उक्त निक्षेपलाई नगद मौज्दात अनुपात मा गणना गर्न पाइने छैन, तर अन्य तरलता मापनका लागि भने गणना गरिनेछ। तोकिएको समयावधि पूरा नभएसम्म निक्षेप फिर्ता नपाइने र भुक्तानीका दिन पर्याप्त मौज्दात नभएमा भविष्यमा हुने यस्ता बोलपत्रमा सहभागी हुनबाट वञ्चित गरिने चेतावनी पनि राष्ट्र बैंकले दिएको छ। बजारमा तरलताको अवस्था सन्तुलित राख्न राष्ट्र बैंकले यस प्रकारका मौद्रिक उपकरणहरू प्रयोग गर्दै आएको छ।